कवि श्रेष्ठको विचारमा समानस्तरको रचना कुनै पनि लेखकबाट सम्भव छैन, हरेक लेखकमा एउटा मानक तयार गर्ने र त्यसकै दाँजोमा अरु सिर्जना गर्ने रहर हुन्छ । पोखराको हकमा पनि आफैले लेखेका रचनाको भारले गर्दा आफैलाई गाह्रो भएको उनले स्वीकार गरे । आफ्नो कविता सङ्ग्रह तयार भए पनि छाप्न हिच्किचाएको स्वीकार्दै उनले थपे – “मैले कविता सङ्ग्रह निकाल्नु जोखिम मोल्नु नै हो, आफँैले खडा गरेको चुनौतीको पहाड चढ्दा बुद्धि पुर्याउनैपर्छ ।”
‘पागलबस्ती’ लेखेर चर्चा कमाएका सरुभक्तको भनाइ भिन्न छ । म्याक्सिम् गोर्की भन्नासाथ आमा, लक्ष्मीप्रसाद देवकोटा सम्झनासाथ मुनामदन, पारिजात सम्झिँदा शिरीषको फूल र आफूलाई सम्झँदा ‘पागलबस्ती’को चर्चा हुने गरेको स्वीकार्दै उहाँले पाठकले बनाएको मानक सिर्जनाको हकमा मान्य नहुने धारणा उनकाे छ । हरेक लेखकले उत्कृष्ट सिर्जना गर्ने लालसा पालेर बस्ने उनको भनाइ छ । – “सर्जकले कृति जन्माउँछ तर पाठकले एउटा रचनामार्फत सर्जकको मानक बनाउँदैमा उत्कृष्ट लेख्ने तिर्सना भने मेटिँदैन ।” ‘पागलबस्ती’पछि आफूले त्योभन्दा राम्रा रचना सिर्जना गरे पनि चर्चा कम भएको उनको गुनासो छ ।
पोखराले लामो समयसम्म किन गतिलो साहित्यकार जन्माउन सकेन त रु भन्ने प्रश्नमा उनले भने – “पोखराका विभिन्न गतिविधिले नयाँ साहित्यकार जन्मिएका छन्, उनीहरु सङ्घर्ष गर्दैछन् र एक दिन उनीहरु राष्ट्रिय मूलधारमा अवश्य आउँछन् ।”
विक्रमाब्द ४० को दशकमा उदाएका कविहरु तीर्थ, प्रकट पङ्गेनीहरुको चर्चासँगै रमेश श्रेष्ठ चर्चामा रहे । बिम्बहरुको प्रयोग गर्दै उजले २०५५ सालतिर ‘चराहरुको पहाड’ सार्वजनिक गरे पनि बिम्बको नामका अत्यधिक क्लिष्टता पस्केको आरोपबाट उनी मुक्त छैनन्। पछिल्लो समय राष्ट्रियस्तरका पुरस्कार पाउनेमा उनी अग्रस्थानमा छन् ।
“नयाँ पुुस्तामा पोखराको बिँडो थाम्ने खोइ रु,” स्वयम् कवि रमेश श्रेष्ठ आफैसँग प्रश्न गर्छन र थप्छन् – “हल्ला गर्दै हिँड्ने तर स्तरीयतामा ख्याल नदिई आफैँले लेखेको राम्रो हो भन्ने अहम्ले पोखरेली साहित्य खस्केको हो ।”
प्रगतिवादी मुक्तककार तथा नाटककार कृष्ण उदासीको बुझाइमा पोखराको साहित्य प्राविधिक बन्दै गएको छ । हार्दिकता, कोमलता, जीवन र जगत्को यथार्थ चित्रणको सट्टा उपकरणको समीकरण मिलाउने प्रवृत्तिले पोखराको साहित्य खस्केको उदासीको बुझाइ छ । “यहाँ गुणस्तरीय साहित्य पढिँदैन र पुरस्कारले कृतिको स्तरीयता मापन हुँदैन” – उनले थपे ।
पछिल्लो समय चर्चित कवि सरस्वती प्रतीक्षाले पनि पोखराको साहित्यमा गुणस्तरीयता कम भएको स्वीकारे पनि स्तरीय रचना सिर्जना नभएको भन्ने चाहिँ स्वीकारेनन् । “यहाँ एउटै दिनमा थुप्रै कार्यक्रम हुन्छन् तर कार्यक्रममा प्रस्तुत हुने रचनामा भने गुणस्तरीयता कम नै हुन्छन्,” प्रतीक्षाले भने । उनले रहरले लेख्ने धेरै र रहर पुगेपछि अर्को क्षेत्रमा लाग्नाले पनि स्तरीय साहित्य सिर्जना हुन नसकेको धारणा राखे । सिर्जनाका लागि प्रतिभा नै चाहिने धारणा राख्ने उनले नारी हस्ताक्षरको कमी हुनुमा लगनकै कमी भएको तर्क गरे ।
पोयुसांपका पूर्व सदस्य विभु भुसालको विचारमा पोखराको साहित्य यति बेला अग्रजले खाएको भाङको नसामा मस्त छ । “अग्रजले भजन मण्डली तयार गर्ने अनि अनुज पुस्ता भजन गाउनमै रमाउने जस्तो पनि देखिएको छ” – उनले भने ।
कवि तीर्थ श्रेष्ठ अहिले पनि राम्रा कविता लेख्छन् । चालीसको दशकको सेरोफेरोमा उनले लेख्नुभएका र ५० को दशकमा प्रकाशित कविता सङ्ग्रह ‘तीर्थ श्रेष्ठका कविताहरु’मा समेटिएका कविताले राष्ट्रिय चर्चासँगै कविताको एउटा मानक तयार भयो । “शब्दलाई खेलाउने कुशल शिल्पी नै उहाँको विशेषता हो” – चर्चित गजलकार ईश्वरमणि अधिकारीले भन्नुभयो । आख्यान बढी चर्चामा रहेका बेला पोखराको पहिचान कविताको चर्चा कम हुनु अस्वाभाविक नभएको उनको तर्क छ ।
त्यसो त, गजलमा दीपक समिप, कवितामा ईश्वरमणि अधिकारी, सरस्वती प्रतीक्षालगायतका सर्जकको रचनाले राष्ट्रिय चर्चा बटुल्दै आएका छन् । पछिल्लो समय चर्चित सरस्वती प्रतीक्षाहरु आशालाग्दो प्रतिभा भएको कवि तीर्थ श्रेष्ठको दाबी छ । पूर्वमा विराटनगर, झापा एवम् राजधानीसँग प्रतिस्पर्धा गर्न पोखरा तयार रहेको जिकिर गर्दै उहाँले साहित्यकार समय प्रवाहले जन्माउने भएकाले यहाँबाट पनि विश्वस्तरका साहित्यकार निस्कने आशा व्यक्त गरे ।
प्रतिकृया लेख्नुहोस्: